शिक्षक महासंघ पर्साद्वारा सुखचैना माविको घटनावारे निष्पक्ष छानबिनको माग

वीरगंज । नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले वीरगंज–२१ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालय, सुखचैनामा गत चैत ४ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।

बुधवार महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ। निर्दाेषलाई अन्याय नहोस् र दोषी उम्कन नपाओस् भन्ने सिद्धान्तअनुसार छानबिन अघि बढाउनुपर्ने महासंघका अध्यक्ष तीर्थराज प्रसाद यादव र सचिव विनोद गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार चैत १० गते सोही विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका एक सदस्यलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले पर्सा जिल्लामा शैक्षिक गतिविधि मर्यादित र निरन्तर रूपमा सञ्चालन हुनुपर्ने तथा प्रधानाध्यापक, शिक्षक–शिक्षिका, बालविकास सहयोगी र विद्यालय कर्मचारीको उच्च सम्मान गरिनुपर्ने माग पनि गरेको छ।

हिरासतमा रहेका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई तत्काल रिहा गरी निष्पक्ष अनुसन्धान गर्न माग गर्दै त्यसो नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी महासंघले दिएको छ।