वीरगंज, २० चैत । विश्व हिन्दू परिषद् नेपाल, वीरगंजको आयोजनामा यस वर्षको श्री हनुमान जन्मोत्सवको अवसरमा विशाल शोभा यात्रा निकालिने भएको छ। हिन्दू पत्रकार संघ नेपालद्वारा शुक्रवार वीरगंजस्थित माईस्थान अतिथि सदनमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का सचिव दिपेन्द्र सराफले शोभा यात्राको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो।
शनिवार दिउँसो ठीक २ बजे वीरगंजको मुटु घण्टाघरबाट शुरू हुने शोभा यात्राले नगरका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्नेछ। यात्रा घण्टाघरबाट माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चोक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल र गहवा हुँदै पुनः घण्टाघर पुगेर समापन हुने कार्यतालिका रहेको छ।
यस ऐतिहासिक धार्मिक यात्रामा वीरगंज महानगरपालिकाका ३२ वटै वडाबाट भक्तजनहरूको उत्साहजनक सहभागीता रहने बताइएको छ। परिषद्का अनुसार करिब ३० हजारभन्दा बढी भक्तजन सडकमा उत्रिने अनुमान गरिएको छ भने यात्रालाई सभ्य र मर्यादित बनाउन २ हजार स्वयंसेवक परिचालन गरिनेछ।
बढ्दो गर्मीलाई मध्यनजर गर्दै यात्राको मार्गमा विभिन्न स्थानमा खानेपानीको विशेष व्यवस्था मिलाइएको छ। कार्यक्रमलाई सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय, वीरगंज महानगरपालिका र सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइसकेको सचिव सराफले जानकारी दिनुभयो। यस कार्यमा विभिन्न हिन्दूवादी संघ–संस्थाहरूको समेत ऐक्यबद्धता र सहकार्य रहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै सचिव सराफले यस पावन धार्मिक अनुष्ठानलाई सफल बनाउन र आम नागरिकसम्म सन्देश पु-याउन सञ्चारकर्मीहरूसँग विशेष सहयोगको अपेक्षा गर्नुभयो। हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रोनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव राज सराफले गर्नुभएको थियो।









