वीरगंज । सशस्त्र प्रहरीले साढे ४६ लाख मूल्य बराबरको केरासहित ट्रकलाई नियन्त्रणमा लिएर वीरगंज भन्सारमा बुझाएको छ ।
चैत २१ गते १२ः५५ बजेको समयमा जिल्ला पर्सा वीरगंज म.न.पा– १६ नगवा फुलवारी टोलमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर बीरगंजका गुल्मपति डिएसपी बिकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले ओमफ्रुट सेन्टर अगाडि अबैधरूपमा भन्सार छली भारतबाट ल्याइएका केरा नियन्त्रणमा लिएको हो ।
प्रदेश ०३–०१–००६ ख ०८३० नम्बरको छ चक्के टाटा ट्रकमा लोड गरिरहेको अवस्थामा काँचो केरा १८२ क्रेट फेला परेको हुँदा आवश्यक कागजपत्रहरू माग्दा केहि पनि नभएकोले ट्रक र केरा सहित नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
ट्रक सहित केराको भन्सार मूल्य ४६ लाख ४९ हजार कायम गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले जनाएका छन्।









