पर्साका लेखापढी व्यवसायीद्वारा ‘पेन डाउन’

वीरगंज, २२ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, जिल्ला कार्य समिति पर्साले विभिन्न स्थानमा लेखापढी व्यवसायीहरूलाई विनाकारण पक्राउ गरिएको भन्दै ‘पेन डाउन’ आन्दोलन घोषणा गरेको छ।

एसोसिएसनले आइतवार बसेको जिल्ला कार्य समितिको बैठकको निर्णयअनुसार २०८२ चैत २३ गते बिहान ९ बजेबाट अर्काे निर्णय नभएसम्मका लागि पेन डाउन आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ।
सूचनाअनुसार नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन अन्तर्गत विभिन्न कार्य समितिमा आबद्ध लेखापढी व्यवसायीहरूलाई सम्बन्धीत कार्यालय परिसर तथा बाहिरबाट समेत पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
एसोसिएसनका अनुसार नेपाल सरकारको नियमअनुसार भु–सेवा केन्द्र सञ्चालनको अनुमति लिएर धरौटी बुझाइ सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई विभिन्न बहाना बनाई पक्राउ गरिएको भन्दै यस्तो कदमको विरोध गरिएको हो।
जिल्ला कार्य समितिले पक्राउ परेका व्यवसायी साथीहरूलाई निःशर्त रिहाइ गर्न माग गर्दै अन्यथा आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिएको छ।
पेन डाउन आन्दोलनका कारण भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई केही असुविधा हुन सक्ने भन्दै त्यसप्रति क्षमायाचना गरिएको छ।
एसोसिएसनका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले सम्पूर्ण भु–सेवा केन्द्र तथा लेखापढी व्यवसायीहरूलाई आन्दोलनमा ऐक्यबद्धता जनाइ सहयोग गर्न आग्रह गरेका छन।