वीरगंज, ५ जेठ । वीरगंजबाट सोमवार बेलुकी पक्राउ गरिएका दुर्गा प्रसाई विरूद्ध पर्सा प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन तथा राज्यविरूद्धको कसूरमा मुद्दा दर्ता गरेको छ ।
मंगलवार वीरगंजमा हुने कार्यक्रममा सहभागी हुन आएका प्रसाईलाई सोमवार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।
मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले विज्ञप्ति जारी गर्दै प्रसाईविरूद्ध उक्त कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार विभिन्न जातजाति तथा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने र सरकारप्रति घृणा तथा द्वेष फैलाउने खालका अभिव्यक्ति दिएको आरोपमा प्रसाईलाई नियन्त्रणमा लिइएको हो ।
सोमवार राति वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई होटलबाट नियन्त्रणमा लिँदा समर्थकहरूले विरोध जनाएका थिए । त्यस क्रममा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।
प्रसाईको रिहाइको माग गर्दै उनका समर्थकहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको प्रहरीले जनाएको छ ।









