नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छः सभामुख यादव

धनुषा, २५ जेठः मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान दिन नमूना युवा संसदीय अभ्यास कार्यक्रम प्रभावकारी माध्यम बनेको बताउनुभएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा आज जनकपुरधाममा आयोजित ‘नमूना युवा संसदीय अभ्यास कार्यक्रम–२०८३’ मा उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक पर्दछ भन्नुभयो । उहाँले भन्नुभयो, “संसदीय अभ्यासमार्फत युवाहरूमा नेतृत्व विकास, तार्किक बहस, निर्णय क्षमता तथा जिम्मेवारीबोधको विकास हुनेछ । ”

सभामुख यादवले लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन युवा पुस्ताले संविधान, कानुन तथा संसदीय प्रक्रियाको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता अभ्यासले युवालाई भविष्यमा सक्षम जनप्रतिनिधि, नीतिनिर्माता तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य उपेन्द्र महतोले लोकतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि युवाको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाबाट सहभागी भएका युवाले प्रदेशसभाको बैठक सञ्चालन, प्रश्नोत्तर, प्रस्ताव प्रस्तुति तथा छलफलजस्ता संसदीय गतिविधिको अभ्यास गर्नेछ ।