नारायणी रंगशाला र कभर्डहलको स्तरोन्नतिका लागि साढे १५ करोड बजेट विनियोजन, सांसद हरि पन्तद्वारा अर्थमन्त्रीलाई धन्यवाद

वीरगंज, २९ जेठ ।
बालेन सरकारको विशेष प्राथमिकतामा परेको वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटमा कुल साढे १५ करोड रुपियाँँ विनियोजन गरिएको छ ।

खेलकुद मन्त्रालयले रंगशाला र कभर्ड हलको विकासका लागि १२ करोड ५० लाख रुपियाँँ छुट्याएको छ भने पूर्वाधार विकास मन्त्रालयले फ्लड लाइट जडानसहित अन्य आवश्यक स्तरोन्नतिका लागि थप ३ करोड रुपियाँ विनियोजन गरेको हो ।

पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद हरि पन्तले नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा आफूले आम जनता र सरोकारवालाहरू माझ रंगशालाका लागि बजेट पर्नेमा निर्धक्क भएर कुरा राखेको स्मरण गराउनुभएको छ । मिडिया र विभिन्न सार्वजनिक मञ्चहरूमा आफूले यस विषयमा दिएको ओजपूर्ण ओकालत अहिले बजेटमार्पmत प्रमाणित भएको उहाँको भनाइ छ ।

सांसद पन्तले बजेट निर्माणको चरणमा आफूले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बारम्वार संवाद र समन्वय गरेको उल्लेख गर्दै मधेस प्रदेशकै गौरवको रूपमा रहेको यस खेलकुद पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर पर्याप्त बजेट विनियोजन गरिदिएकोमा अर्थमन्त्री डा. वाग्लेप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । यो बजेटले वीरगंज र समग्र क्षेत्रको खेलकुद क्षेत्रमा ठूलो रूपान्तरण ल्याउने विश्वास गरिएको छ ।