काठमाडौं, १० भदौ ।
चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीले भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रका बजार, बस्ती तथा बासिन्दा, बाटोघाटो, पुलपुलेसा, विद्युत आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा अपार क्षति पुगेको घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको नाममा सन्देश जारी गर्नु भएको छ ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु हुंदै यस विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
प्राकृतिक विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धीत सबै निकायलाई आग्रह गर्नुहुँदै सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन आग्रह गर्नुभएको छ ।
सीमासँग जोडिएका छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्काे देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अलग–अलग प्रयास भन्दा त्रिदेशीय संयुक्त प्रयास मार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकेमा अझ प्रभावकारी हुने तथ्यलाई सबैले मनन गर्न आवश्यक देखिएको निर्मल निवास संवाद सचिवालयले जनाएको छ ।









