वीरगंज, १७ जेठ ।
वीरगंज यूथ एकेडेमीको आयोजनामा “प्रथम वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” जेठ १८ गतेदेखि २५ गतेसम्म वीरगंजको आदर्शनगर फुटबल मैदानमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा वीरगंजका विभिन्न विद्यालयहरूको सहभागीता रहनेछ। उदघाटन खेल जेठ १८ गते मुनलाइट इङ्गलिस बोर्डिङ स्कुल र सफल विद्यालयबीच प्रतिस्पर्धा हुनेछ। जेठ १९ गते बिकन र लिटल फ्लावर, जेठ २० गते मोडर्न र नवदीप, जेठ २१ गते साउथ जोन र काभेरी तथा अल्पाइन विद्यालयका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीहरू सेमिफाइनल हुँदै फाइनल चरणमा प्रवेश गर्नेछन। प्रतियोगिताको फाइनल खेल जेठ २५ गते आयोजना गरिनेछ।
प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले प्रतियोगिताभर हुने सात दिनका खेलहरूमा हरेक दिन उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई नगद एक हजार रुपियाँँ पुरस्कार प्रदान गर्ने घोषणा गरे । विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताए ।
प्रतियोगिताको सह–आयोजकमा मुनलाइट इङ्गलिस बोर्डिङ स्कुल छ।








