हरैयाबाट ९ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज २१ चैत । भारतको रक्सौल प्रहरीले हरैया थाना क्षेत्रबाट ९.३१५ किलोग्राम गाँजा बरामद गर्नुका साथै एकजनालाई पक्राउ गरेको छ ।

 
भारत–नेपाल सीमामा लागुऔषध तस्करीविरूद्ध सञ्चालन भइरहेको अभियान अन्तर्गत नेपालबाट भारत तस्करी भइरहेको ९.३१५ किलोग्राम गाँजा अनुमण्डल प्रहरी पदाधिकारी (एसडीपीओ) मनीष आनन्द र हरैया थानाध्यक्ष किशन पासवानको नेतृत्वमा बरामद गरिएको हो ।
प्रेस वार्तामा एसडीपीओ आनन्दले सीमाक्षेत्रमा लागुऔषध तस्करी रोक्न विशेष अभियान सञ्चालन भइरहेको र गुप्त सूचनाको आधारमा उक्त कारबाही गरिएको जानकारी दिए। एक व्यक्ति नेपालबाट कारमार्पmत गाँजा लिएर पूर्वी चम्पारणको मोतिहारी (छतौनी) क्षेत्रमा पुर्रुयाउने तयारीमा थियो। सोही सूचनाको आधारमा प्रहरी र एसएसबीको संयुक्त टोली गठन गरी चेकजाँच गरिएको थियो।

जाँचका क्रममा कस्टम चेकपोस्ट नजिकै बीआर०३पीए४४७७ नम्बरको शंकास्पद कार रोकी तलासी गर्दा सिटमुनि र डिक्कीबाट रातो प्लास्टिकमा प्याक गरिएको १७ प्याकेट गाँजासहित चालक २५ वर्षीय विवेक कुमार (पूर्वी चम्पारण निवासी) लाई पक्राउ गरिएको छ।
 
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध रूपमा गाँजा खेती गरी भारतका विभिन्न भागमा तस्करी हुने गरेको छ।