वीरगंज — वीरगंज महानगरपालिका–२० अपौनीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहरा हटाइएको छ।
नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा मंगलबार भौतिक अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं. ५ का अध्यक्ष प्रदीपकुमार चौरसियाको नेतृत्वमा नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले अतिक्रमण हटाएको हो।
स्थानीय हृदयनारायण सिंह, लक्ष्मण पण्डित, रमेश सिंह, कृपानारायण सिंह, नन्दकिशोर पुरीलगायत दर्जनौँ व्यक्तिले अतिक्रमण गरी बनाएका संरचना हटाएर सार्वजनिक जग्गा खाली गराइएको महानगरपालिकाले जनाएको छ।
अतिक्रमणका कारण विगत ६ वर्षदेखि रोकिएको करिब रु. ८४ करोडको विकास योजना अब अघि बढ्ने भएको छ। ‘स्वच्छन्द निर्माण सेवा’ले ठेक्का सकार गरे पनि जग्गा खाली नभएका कारण काम सुरु हुन सकेको थिएन।
लामो समयदेखि रोकिएको विकास योजना अघि बढ्ने भएपछि स्थानीयवासीले महानगरपालिकाको कदमको स्वागत गरेका छन्।




