नवरात्रिको अवसरमा अल्पाइन डान्डिया नाइट–२०२६ भव्यताका साथ सम्पन्न

वीरगंज, १९ असोज । अल्पाइन माविको आयोजना तथा कलेजका विज्ञान र व्यवस्थापन संकायका कक्षा १२ का विद्यार्थीहरूको विशेष व्यवस्थापन र सक्रियतामा ‘अल्पाइन डान्डिया नाइट २०२६’ आइतवार उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

बडा दसैं (नवरात्रि)को अवसरमा आयोजित सो कार्यक्रमले कलेजमा छुट्टै रौनक र उत्साह थपेको विद्यालयका फाउन्डर विनोद उपाध्यायले जानकारी गराएका छन् ।
होटल शाह दरबार, श्रीपुर, वीरगंजमा आइतवार अपराह्न ४ः०० बजे देखि आयोजित अल्पाइन डान्डिया नाइट २०२६ मा कक्षा ११ र १२ का विद्यार्थीहरू (‘अल्पिनियन्स’) लगायत शिक्षकगण र उनीहरूको परिवारको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।
नवरात्रिको पावन अवसरमा आयोजित यस सांगीतिक तथा सांस्कृतिक सन्ध्यामा नृत्य, संगीत, र भरपूर मनोरञ्जनको अनुपम सङ्गम देखने पाइयो ।
विशेष गरी कार्यक्रममा विद्यार्थीहरूसँगै शिक्षकहरूले आफ्ना परिवारजनसहित सहभागीता जनाएर कार्यक्रमको शोभा बढाएका थिए ।
परम्परागत पहिरनमा सजिएका विद्यार्थी र शिक्षक परिवारहरूले डान्डियाको तालमा रमाइलो गर्दै एकपटक फेरि कलेज परिवारबीचको आत्मीयता र आपसी सद्भाव प्रगाढ बनाएका छन् ।
पढाइको व्यस्तता र चापबाट केही समय विश्राम लिँदै दशैंको पूर्वसन्ध्यामा खुसीयाली साटासाटा गर्न यो डान्डिया नाइट विद्यार्थी तथा शिक्षक सबैका लागि एक अविस्मरणिय क्षण बनेको  फाउन्डर उपाध्यायले जानकारी गराएका छन् ।