एसडीपीओ मनीष आनन्द र थानाध्यक्ष किशन पासवानको नेतृत्वमा ठूलो कारबाही, हरैया क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद

 

 

अभिलाष गुप्ता

बिरगंज /२१ चैत

 

भारत–नेपाल सीमामा लागुऔषध तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत हरैया थाना क्षेत्रमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। अनुमण्डल प्रहरी पदाधिकारी (एसडीपीओ) मनीष आनन्द र हरैया थानाध्यक्ष किशन पासवानको नेतृत्वमा गरिएको संयुक्त कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो, जुन नेपालबाट भारततर्फ तस्करी भइरहेको थियो।

 

प्रेस वार्तामा एसडीपीओ आनन्दले सीमाक्षेत्रमा लागुऔषध तस्करी रोक्न विशेष अभियान सञ्चालन भइरहेको र गुप्त सूचनाको आधारमा उक्त कारबाही गरिएको जानकारी दिए। बरामद गाँजाको परिमाण उल्लेख्य रहेको उनले बताए।

प्राप्त सूचनाअनुसार एक व्यक्ति नेपालबाट कारमार्फत गाँजा लिएर पूर्वी चम्पारणको मोतिहारी (छतौनी) क्षेत्रमा पुर्‍याउने तयारीमा थियो। सोही सूचनाको आधारमा प्रहरी र एसएसबीको संयुक्त टोली गठन गरी चेकजाँच गरिएको थियो।

 

जाँचका क्रममा कस्टम चेकपोस्ट नजिकै बीआर०३पीए४४७७ नम्बरको शंकास्पद कार रोकी तलासी गर्दा सिटमुनि र डिक्कीबाट रातो प्लास्टिकमा प्याक गरिएको १७ प्याकेट गाँजा बरामद गरिएको छ। यसको तौल करिब ९.३१५ किलोग्राम रहेको बताइएको छ।

 

घटनास्थलबाट चालक २५ वर्षीय विवेक कुमार (पूर्वी चम्पारण निवासी) लाई पक्राउ गरिएको छ। यस सम्बन्धमा हरैया थाना काण्ड नम्बर ५२/२६ अन्तर्गत एनडीपीएस ऐनको धारा २०(b)(ii)(C) अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

थानाध्यक्ष पासवानले यस्ता कारबाहीले तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नशाविरुद्धको अभियान अझ कडा रूपमा अघि बढाइने जानकारी दिए।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध रूपमा गाँजा खेती गरी भारतका विभिन्न भागमा तस्करी हुने गरेको छ। यस नेटवर्कलाई ध्वस्त पार्न निगरानी थप कडा पारिने र आगामी दिनमा पनि यस्ता कारबाही निरन्तर जारी रहने जनाइएको छ।