सर्वोच्चद्वारा कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, डा. केसीलाई नै आईजीपीमा निरन्तरता

काठमाडौं  ९ मंसिर ।

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट सरुवा गर्ने सरकारको निर्णय बदरको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै यस विवादको टुंगो अन्तिम सुनुवाइबाटै लगाइने आदेश दिएको हो ।

सरकारले गत १८ कात्तिकको मन्त्रिपरिषद् निर्णयमार्फत कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । साथै, सोही निर्णयबाट रिक्त प्रहरी प्रमुखको पदमा डा. मनोजकुमार केसीलाई नियुक्त गरिएको थियो ।

सरकारको उक्त कदमविरुद्ध कार्की सर्वोच्च पुगेपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निष्कर्षमा पुग्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

यसअघि ७ मंसिरका लागि तोकिएको छलफलको पेसी नवनियुक्त आईजीपी डा. केसीले म्याद बुझेको प्रमाण अभिलेखमा नदेखिएपछि ९ मंसिरका लागि सारिएको थियो । अदालतले अन्तरिम आदेश नदिएसँगै अब डा. केसीलाई नै प्रहरी महानिरीक्षकको भूमिकामा काम गर्न कानुनी बाधा हटेको छ ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙