वीरगञ्जको विकासका लागि सुधीर पटेलद्वारा घरदैलो अभियान तीव्र, सौराहा टोलवासीसँग अन्तरक्रिया

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा जनसम्पर्क तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। यसैक्रममा उनले वीरगञ्ज महानगरपालिका–१८ स्थित सौराहा टोलका स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

भेटघाटका क्रममा नेता पटेलले वीरगञ्जको समग्र विकासका लागि परम्परागत राजनीतिक सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे। देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जका नागरिकले अझै पनि आधारभूत सेवा, सुशासन र विकासका क्षेत्रमा विभिन्न समस्या भोग्नुपरेको उनको भनाइ थियो।

उनले राजनीतिलाई पेसाभन्दा पनि जनसेवाको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पारदर्शी, भ्रष्टाचारमुक्त र जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए।

विकासलाई कागजी योजना र भाषणमा मात्र सीमित नराखी टोल तथा बस्तीका नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र व्यवस्थित सहरीकरणलाई प्राथमिकतामा राखेर वीरगञ्जलाई व्यवस्थित र सुशासित महानगर बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।

महानगरवासीका समस्या समाधानलाई प्राथमिकतामा राख्दै नागरिकको सक्रिय सहभागिताबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने विश्वाससमेत उनले व्यक्त गरे।

भेटघाट तथा अन्तरक्रियाका क्रममा सौराहा टोलका स्थानीय बासिन्दाले आफ्ना धारणा, अपेक्षा तथा टोलका विभिन्न समस्याबारे नेता पटेललाई जानकारी गराएका थिए। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙