
काठमाडौँ १० मंसिर ।
सरकारले ‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति’ विघटन गरेको छ । गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णय बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार स्वायत्त निकायका रूपमा कार्यरत उक्त समिति खारेज भएसँगै अब चुरे संरक्षणका सम्पूर्ण काम मन्त्रालय मातहतकै ‘चुरे तथा संवेदनशील जलाधार संरक्षण विभाग’ मार्फत सञ्चालन हुनेछन् । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार १० वर्षे गुरुयोजना कार्यान्वयनको सुस्त प्रगति मूल्याङ्कन गर्दै सरकारले समिति विघटन गरी प्रत्यक्ष सरकारी संयन्त्रबाटै काम अघि बढाउने निर्णय लिएको हो ।
खर्बौँको गुरुयोजना, प्रगति भने ७ प्रतिशतभन्दा कम सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको चुरे संरक्षण गुरुयोजनाको २० वर्षे अवधिका लागि २ खर्ब ४९ अर्ब ७० करोड १९ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको थियो । समिति गठन भएयता १६ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, राष्ट्रिय योजना आयोगको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको वित्तीय प्रगति ६.४९ प्रतिशत र भौतिक प्रगति ६.७ प्रतिशतमा मात्रै सीमित रहेपछि यसको प्रभावकारितामाथि निरन्तर प्रश्न उठ्दै आएको थियो ।
विघटन र पुनर्संरचनाको पृष्ठभूमि
-
कार्यक्रमको सुरुवात: पृथ्वीको सबैभन्दा कान्छो र संवेदनशील पहाड मानिने चुरे शृङ्खला जोगाउन सरकारले आव २०६६/६७ देखि ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ थालेको थियो ।
-
समितिको गठन र गुरुयोजना: संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन २ असार २०७१ मा विकास समिति गठन गरियो भने २४ जेठ २०७४ मा गुरुयोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको थियो ।
-
पुनर्संरचनाको प्रयास: सरकारले आव २०८२/८३ को नीति तथा कार्यक्रममै चुरे संरक्षण गुरुयोजना पुनरावलोकन गर्ने र यसलाई ‘राष्ट्रिय चुरे संरक्षण आयोजना’ का रूपमा पुनर्संरचना गर्ने घोषणा गरेको थियो ।
किन संवेदनशील छ चुरे क्षेत्र ? मुलुकका ७७ मध्ये ३७ जिल्लामा फैलिएको चुरे भूभागमा साना–ठूला गरी १६४ वटा नदी प्रणाली छन् । कुल जनसङ्ख्याको करिब ५० प्रतिशत हिस्सा तराई–मधेसमा बसोबास गर्ने भएकाले चुरे क्षेत्रमा मानवीय चाप र प्राकृतिक स्रोतको दोहन अत्यधिक छ । ढुङ्गागिट्टी तथा वनपैदावारको अनियन्त्रित दोहनले पानीका मुहान सुक्दै गएका छन् भने बर्सेनि आउने बाढीले तराईको उर्वर भूमिमा बालुवा थुपार्ने र बस्ती डुबानमा पार्ने समस्या विकराल बन्दै गएको छ ।
समितिले गर्दै आएका मुख्य कामहरू सुरुवाती वर्षमा साझेदार निकाय र संघीयतापछि स्थानीय तहमार्फत काम गरेको समितिले आव २०७६/७७ यता ५ वटा कार्यक्रम कार्यान्वयन इकाइमार्फत आफ्ना गतिविधि सञ्चालन गर्दै आएको थियो । विघटित समितिले मुख्यतया नदी तथा खोला किनारा स्थिरीकरण, तटबन्ध निर्माण, पहिरो तथा खहरे नियन्त्रण, सिमसार तथा तालतलैया संरक्षण, भूमिगत जल पुनर्भरण पोखरी निर्माण, भिरालो जग्गामा फलफूल रोपण र कृषि–वन प्रवर्द्धनका कार्यहरू गर्दै आएको थियो । यस्तै, आव २०७२/७३ देखि नेपाली सेनाको वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले पनि समितिसँगको सहकार्यमा संरक्षणका काम गर्दै आएको छ ।



























