काठमाडौं,१०मंसिर/ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
पहिलो चरणको आन्दोलनबाट सरकारले माग सम्बोधन नगरेको भन्दै महासंघले मंसिर १३ देखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा दैनिक एक घण्टा धर्ना दिने निर्णय गरेको हो।
कार्यक्रमअनुसार मंसिर १३ गते रास्वपा, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपाको कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइनेछ।
त्यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत जिल्ला सदरमुकाममा कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ।
समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, पत्रकारको श्रम अधिकार उल्लंघन, सञ्चारमाध्यममा अवरोध तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो।
महासंघले आफ्ना मागप्रति लिखित प्रतिबद्धता जनाउने राजनीतिक दलको कार्यालयमा धर्ना नगर्ने स्पष्ट पारेको छ। दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन घोषणा गरिने जनाएको छ।




























