हिसान पर्साको ३०औँ वार्षिकोत्सवमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, ब्राइट स्कुलकी आरती यादव प्रथम

 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) पर्साको ३०औँ वार्षिकोत्सवको अवसरमा बिहीबार वीरगञ्जमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ब्राइट स्कुलकी छात्रा आरती कुमारी यादव प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।

वीरगञ्जस्थित ममता विद्या मन्दिरको सभाहलमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत सातवटा विद्यालयका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूबीच आफ्नो विचार, तर्क तथा अभिव्यक्ति क्षमता प्रस्तुत गर्ने प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको नतिजाअनुसार ब्राइट स्कुलकी आरती कुमारी यादव प्रथम, ओम नेसनल एकेडेमीकी निकिता यादव द्वितीय र सनलाइट स्कुलकी मुस्कान बर्मा तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका शिक्षा प्रमुख आनन्द लामिछाने रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीसहित मुकेश गुप्ता, विश्वास प्रताप साह, आलोक चौरसिया, जियालाल गुप्ता र विनोद उपाध्यायको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकका रूपमा ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक इन्द्रप्रसाद भट्टराई रहेका थिए। उनले सहभागी विद्यार्थीहरूको वक्तृत्वकला, विषयवस्तुको प्रस्तुति, तर्क क्षमता तथा अभिव्यक्तिको मूल्याङ्कन गरेका थिए।

हिसान पर्साका अनुसार विद्यार्थीहरूमा वक्तृत्वकला, वाक्पटुता तथा प्रभावकारी अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। शैक्षिक गतिविधिसँगै विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा नेतृत्व क्षमता विकासमा सहयोग पुर्‍याउने लक्ष्य प्रतियोगिताको रहेको आयोजकले जनाएको छ।

यस्ता अतिरिक्त शैक्षिक गतिविधिले विद्यार्थीहरूलाई आफ्नो विचार स्पष्ट रूपमा राख्न, तर्कसहित विषयवस्तु प्रस्तुत गर्न तथा सार्वजनिक मञ्चमा आत्मविश्वासका साथ बोल्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

हिसान पर्साको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनात्मकता, बौद्धिक क्षमता र व्यक्तित्व विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙