आपतकालीन अस्थायी फड्के पुलमा मन्त्रीको सवारी

 

४५ दिनसम्म आवागमन ठप्प बनाएको विपद्पछिको चुनौतीलाई जनश्रमदान र सामाजिक संस्थाको सहकार्यले चिर्‍यो, स्थानीय पहलबाट बनेको पुल हुँदै मन्त्रीको यात्रा

रसुवा। २०८३ साल भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले रसुवा जिल्लाको भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। बाढीका कारण भोटेकोशी आसपासका जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य संरचनाहरू क्षतिग्रस्त भए। यसै क्रममा स्याफ्रुबेसीस्थित महत्वपूर्ण पुलसमेत पूर्ण रूपमा ध्वस्त भयो।

स्याफ्रुबेसीको उक्त पुल आमाछोदिङ्मो गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ३ का बासिन्दाका लागि मात्र नभई धादिङको रुबी भ्याली क्षेत्रसँगको आवागमनका लागि समेत महत्वपूर्ण थियो। पुल बगाएपछि करिब ४५ दिनसम्म स्थानीय नागरिकले आवतजावतमा ठूलो कठिनाइ भोग्नुपर्‍यो। आमाछोदिङ्मो गाउँपालिकामा उत्पादन हुने बन्दाकोपी लगायतका कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा किसानहरू थप मारमा परे। दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामीको उपचार र अत्यावश्यक सेवासम्म प्रभावित बने।

यस्तो विषम परिस्थितिमा स्थानीय नागरिक, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सामाजिक संस्थाहरूको संयुक्त पहलमा आपतकालीन अस्थायी फड्के पुल निर्माण गर्ने अभियान सुरु भयो।

पहिलो चरणको पुल निर्माणमा व्यापक जनसहभागिता

आमाछोदिङ्मो गाउँपालिकाका उपाध्यक्ष चन्द्रिका तामाङ तथा वडा नं. २ का अध्यक्ष लाक्पा कामी तामाङ, वडा नं. ३ का अध्यक्ष सुरेन्द्र तामाङ, वडा नं. ४ का अध्यक्ष धर्म तामाङ र वडा नं. ५ का अध्यक्ष धावा गोम्बो तामाङ र सामाजिक अभियन्ता मान बहादुर तमाङ, लगायत स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सक्रिय सहभागितामा पुल निर्माण कार्य अघि बढाइएको थियो।

पहिलो चरणमा स्थानीय जनसमुदायका २५२ जना र नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका ६० जना गरी ३१२ जनाको श्रमदानबाट पुल निर्माण सम्पन्न गरिएको थियो।

पुल निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग जुटाउन विभिन्न सामाजिक संस्था र सहयोगी व्यक्तिहरूले महत्वपूर्ण भूमिका निर्वाह गरे।

– रोटरी क्लब अफ गोदावरी, रोटरी डिस्ट्रिक्ट ३२९२ तथा रोटरी कम्युनिटी क्रप्स रसुवा बाट रु. ३ लाख ३ हजार आर्थिक सहयोग प्राप्त भएको थियो। उक्त सहयोग जुटाउन सामाजिक अभियन्ता मान बहादुर तामाङको समन्वय तथा पहल महत्वपूर्ण रह्यो।

– फ्यामिली स्टोफेल फाउन्डेसन र शान्ति सेवा गृह बाट संयुक्त रूपमा रु. १ लाख ५५ हजार ७७८ बराबरका निर्माण सामग्री प्राप्त भएका थिए। उक्त सहयोग जुटाउन विनोद आचार्यको समन्वय र सहकार्य उल्लेखनीय रह्यो।

– साङ्जेन हाइड्रोपावर बाट पुल निर्माणका लागि १२० मिटर लट्ठा उपलब्ध गराइएको थियो।

यसरी विभिन्न निकायको आर्थिक, भौतिक र मानवीय सहयोगबाट पुल निर्माण सम्पन्न भई स्थानीयको आवागमन पुनः सञ्चालन भएको थियो।

बाढीले पुनः पुल बगाएपछि पनि हिम्मत हारेनन् स्थानीय

दुर्भाग्यवश, निर्माण सम्पन्न भएको केही समयपछि आएको बाढीले उक्त अस्थायी पुल पुनः बगायो। तर स्थानीयवासीले हार मानेनन्। पुनः पुल निर्माण गर्ने अभियानमा रोटरी डिस्ट्रिक 3292, रोटरी क्लब काठमाडौं सरकल, रोटरी क्लब अफ गोदावरी, रोटरी कम्युनिटी क्रप्स रसुवा, र ईको हिमाल नेपाल बाट रु. २ लाख ५५ हजार, नेपाल रेडक्रस सोसाइटीबाट रु. १ लाख २५ हजार सहयोग जुटाइयो।

दोस्रो चरणको पुनर्निर्माणमा स्थानीय समुदायका २५० जना र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५० जना गरी करिब ३०० जनाले श्रमदान गरे। सबैको सामूहिक प्रयासबाट पुनः आपतकालीन अस्थायी फड्के पुल निर्माण सम्पन्न गरियो।

यो पुल केवल नदी वारपार गर्ने माध्यम मात्र रहेन, विपद्को समयमा नागरिक एकता, सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र सामूहिक इच्छाशक्तिको उदाहरणसमेत बन्यो।

मन्त्रीको सवारीले स्थानीय प्रयासलाई राष्ट्रिय सन्देश

पुल निर्माण सम्पन्न भएपछि संघीय मन्त्री महिला तथा बालबिकास मन्त्री सीता बादी उक्त आपतकालीन अस्थायी फड्के पुल हुँदै सवारी गर्नुभएको छ। लामो समयसम्म आवागमनबाट वञ्चित बनेका स्थानीय नागरिकका लागि यो महत्वपूर्ण क्षण बनेको छ।

पुल निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउने स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सहयोगी संस्था, अभियन्ता र सर्वसाधारणका लागि मन्त्रीको सवारी खुसी र उत्साहको विषय बनेको छ।

सरकारका विभिन्न तहबाट स्थायी पूर्वाधार निर्माणका प्रयास र पहल आवश्यक रहेकै अवस्थामा स्थानीय नागरिकले आफ्नै श्रम, सामाजिक संस्थाको सहयोग र सुरक्षाकर्मीको साथमा आपतकालीन आवागमनको विकल्प तयार गर्नु आफैँमा उदाहरणीय काम हो।

सरकारका लागि पनि एउटा महत्वपूर्ण सन्देश

भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएका रसुवाका पुल, सडक र अन्य पूर्वाधारको पुनर्निर्माण अझै महत्वपूर्ण आवश्यकता हो। अस्थायी फड्के पुलले तत्कालका ुलागि आवागमन सहज बनाए पनि यसले स्थायी पुलको आवश्यकता समाप्त गर्दैन।

सरकारले विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै स्याफ्रुबेसी लगायतका क्षतिग्रस्त पुलहरूको स्थायी निर्माण र सडक सञ्जाल पुनःस्थापनामा तीव्रता दिनुपर्ने देखिन्छ।

यस घटनाले एउटा महत्वपूर्ण सन्देश दिएको छ—विपद्को समयमा सरकार, स्थानीय तह, नागरिक, सुरक्षा निकाय र सामाजिक संस्थाहरूबीच प्रभावकारी समन्वय हुन सकेमा कठिन परिस्थितिमा पनि जनजीवनलाई सामान्य बनाउने काम सम्भव हुन्छ।

स्याफ्रुबेसीको यो फड्के पुल केवल एउटा अस्थायी संरचना होइन; यो स्थानीय जनताको पसिना, सुरक्षाकर्मीको श्रम, सामाजिक संस्थाको सहयोग र सामूहिक एकताको प्रतीक हो। मन्त्रीको सवारीले यस पुललाई थप चर्चामा ल्याएको छ भने यसको निर्माणले राज्य र समाज दुवैलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सहकार्यको महत्वपूर्ण पाठ सिकाएको छ।

स्थानीय पहलबाट बनेको पुल हुँदै मन्त्रीको सवारी—स्याफ्रुबेसीको यो दृश्यले विकास र पुनर्निर्माणमा जनसहभागिताको महत्वलाई फेरि एकपटक उजागर गरेको छ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙