काठमाडौँ –
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय कुँवर र यादवसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बिहीबार अनुमति दिएको हो।
यसअघि अदालतले उनीहरूलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि पुनः म्याद माग गरेको थियो।
अदालतको पछिल्लो आदेशसँगै आरोपीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउने बाटो खुलेको छ।



























