काठमाडौँ १० मंसिर ।
वैदेशिक रोजगारीका नाममा श्रमिक ठगी गर्नेहरूविरुद्ध वैदेशिक रोजगार विभागले कडा नीति अख्तियार गरेपछि पक्राउ पुर्जी जारी भएका ४७ जना आरोपित विभागको सम्पर्कमा आएका छन् ।
ठगीमा संलग्न व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएसँगै विभागमा उपस्थित भएका उनीहरूले पीडित श्रमिकहरूसँग मिलापत्रसमेत गरिसकेको विभागले जनाएको छ ।
विभागले गत कात्तिक १९ गते एक सूचना जारी गर्दै ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो । उक्त समयसीमाभित्र सम्पर्कमा नआए ठगी कारोबारमा प्रयोग भएका बैंक खाता रोक्का गरिने स्पष्ट चेतावनी दिइएपछि वर्षौँदेखि फरार रहेका आरोपितहरूमा दबाब सिर्जना भएको हो ।
विभागको तथ्याङ्कअनुसार वैदेशिक रोजगार ठगी कसुरमा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । त्यसमध्ये ४७ जना सम्पर्कमा आएर पीडितको रकम फिर्ता तथा मिलापत्र गरिसकेका छन् भने १ हजार १७१ जना अझै फरार सूचीमा छन् ।
तोकिएको ३५ दिनको म्यादभित्र हाजिर नहुने बाँकी आरोपितहरूको हकमा म्याद सकिएलगत्तै बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने प्रक्रिया अघि बढाउन विभागले सम्बन्धित शाखालाई निर्देशन दिइसकेको छ । कानुनी दायरामा आउन अटेर गर्दै आएका ठगीका आरोपितहरूलाई बाध्य पार्न विभागले वित्तीय कारोबार नै ठप्प पार्ने रणनीति अपनाएको हो ।



























