फर्च्युन सिटी गेमिङ क्लबबाट जुवा खेल्ने ९ र नेपालीलाई जुवा खेलाउने ३ जना पक्राउ

वीरगञ्ज, ११ मंसिर ।

वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंसिर १0 गते राति करिब ११ः५० बजे वीरगञ्ज महानगरपालिका–१० लोहापट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रा.लि. (क्यासिनो) मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ९ जना र नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका–१२ का ६२ वर्षीय विजय अग्रवाल, वीरगञ्ज–३० का ३० वर्षीय सन्तोषकुमार यादव, वीरगञ्ज–२४ का २४ वर्षीय अनुरागकुमार, पर्सागढी नगरपालिकाका २६ वर्षीय दिनेश साह, वीरगञ्जका ४८वर्षीय  दीपक साह, बारा कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, पर्साको काभ्रे महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुली मरिन गाउँपालिकाका २७ वर्षीय  विनोदकुमार लो र काठमाडौं शंखु नगरपालिकाका ४० वर्षीय राजेश श्रेष्ठ रहेका छन् ।

त्यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा बैतडी दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, पर्सा वीरगञ्ज महानगरपालिकाका  ३७ वर्षीय  प्रभु साह तुरहा र सिरहा धनगढीमाई नगरपालिका का ४६वर्षीय दीपकराज पराजुलीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गतिविधिबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙