गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि संसदीय उपसमितिको प्रतिवेदन, ६६४ रोपनी जग्गा व्यवस्थापन गर्न सुझाव

काठमाडौं  ११ मंसिर ।

गोरखकाली रबर उद्योगको पुनरुत्थान तथा सरकारी लगानीको प्रभावकारी व्यवस्थापनका सम्बन्धमा अध्ययन गर्न बनेको संसदीय उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रतिनिधिसभा सदस्य सुशील खड्काको संयोजकत्वमा गठित उक्त उपसमितिले सरकारी लगानी व्यवस्थापन समितिसमक्ष प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने उपाय र सरकारको लगानी सुरक्षित गर्ने रणनीतिहरू समेटिएका छन् ।

अध्ययनका क्रममा उपसमितिले उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनमा औंल्याइएका वित्तीय अवस्था, चल–अचल सम्पत्ति, उत्पादन क्षमता र स्वामित्वसम्बन्धी तथ्यहरूको सूक्ष्म समीक्षा गरेको थियो । यसका साथै विषयविज्ञसहितको टोलीले उद्योग परिसर, रबर खेती हुने क्षेत्र र निजी क्षेत्रका प्रतिष्ठानहरूको स्थलगत अनुगमन गर्दै सरोकारवालाहरूसँग व्यापक छलफलसमेत गरेको जनाइएको छ ।

उपसमितिले गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी संस्थानहरूको व्यवस्थापनका लागि विविध सञ्चालन ढाँचा (मोडेल) अघि सारेको छ । प्रस्तावित विकल्पहरूमा प्रतिष्ठानको सेयर व्यवस्थापन गर्ने, संरचनागत सुधार गरी निजी क्षेत्रलाई सञ्चालन करारमा दिने वा समग्र सम्पत्तिको व्यवस्थापन गर्ने बुँदाहरू मुख्य छन् ।

विशेषगरी गोरखकाली रबर उद्योगको सम्पत्तिलाई मौद्रिकीकरण तथा पुनर्संरचना गर्दै लगानीसहित सञ्चालन करारमा दिने, ‘रेभिन्यु–बेस्ड फाइनान्सिङ’ (आम्दानीमा आधारित वित्तीय) मोडेल अपनाउने र उद्योगको नाममा रहेको ६६४ रोपनी जग्गाको उचित व्यवस्थापन गर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

उपसमिति संयोजक खड्काका अनुसार अब यही अवधारणालाई आधार मानेर उदयपुर र हेटौंडा सिमेन्ट उद्योगको विषयमा पनि काम अघि बढाइनेछ । यही ढाँचामा ४५ भन्दा बढी सार्वजनिक संस्थानहरूलाई समेटेर एकीकृत ‘मास्टर मोडेल’ समेत तयार पारिएको उनले जानकारी दिए ।

यसैबीच, संयोजक खड्कालाई नेपाल टेलिकम र विशाल बजार कम्पनीको संस्थागत पुनर्संरचनाबारे अध्ययन गर्ने थप जिम्मेवारीसमेत दिइएको छ । उक्त अध्ययनको प्रतिवेदन आउँदो पुस मसान्तभित्र बुझाउने गरी समयसीमा तोकिएको छ ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙