वीरगञ्ज, ११मंसिर/ चौहान जातिलाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्न माग गर्दै पर्साका चौहान समुदायले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन्।
चौहान जातिका जिल्ला अध्यक्ष रामबाबु चौहानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमार्फत चौहान समुदायलाई राज्यको अल्पसंख्यक समुदायको सूचीमा समावेश गरी आवश्यक संवैधानिक तथा कानुनी मान्यता प्रदान गर्न माग गरिएको छ। समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक अवस्था कमजोर रहेको उल्लेख गर्दै राज्यबाट प्राप्त हुने अवसर, सेवा तथा सुविधामा समान पहुँच सुनिश्चित गर्नुपर्ने मागसमेत गरिएको छ।
टोलीले चौहान जातिको वास्तविक जनसंख्या, सामाजिक अवस्था र पछाडि परेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक अध्ययन तथा अनुसन्धान गरी अल्पसंख्यक समुदायमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रक्रिया अघि बढाउने बताएका छन्।
चौहान समुदायले आफ्नो पहिचान, अधिकार र राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधाको सुनिश्चितताका लागि लामो समयदेखि विभिन्न माग उठाउँदै आएको जनाएको छ।



























