सुदामा स्विट्सलाई दुई लाख जरिवाना, मिठाईमा हाइड्रो प्रयोग भएको भेटियो

सहारा संवाददाता—-

परवानीपुर, ११ मंसिर । बाराको कलैया उपमहानगरपालिका–१ स्थित सुदामा स्विट्सको मिठाई कारखानामा अखाद्य वस्तु प्रयोग भएको र सरसफाइमा लापरबाही गरेको भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सुशील यादवको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले बिहीबार मिठाई पसलका दुईवटा कारखानामा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुदामा स्विट्सको कारखानामा मिठाई खान अयोग्य रहेको, हाइड्रो प्रयोग गरिएको र कारखानाको सरसफाइमा ध्यान नदिएको पाइएको हो ।

उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट ढाँटी वा लुकाइछिपाइ बिक्री गरेको कसुरमा सुदामा स्विट्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको यादवले जानकारी दिए ।

उनका अनुसार कारखानाका सञ्चालकलाई आवश्यक सम्पूर्ण कागजातसहित सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसैगरी, कलैया–१ स्थित सिद्धार्थ स्विट्सको कारखानामा पनि अनुगमन गरिएको छ । त्यहाँ नापतौलका लागि प्रयोग हुने काँटाको अनुमति पत्र पेस गर्नुपर्ने देखिएकाले तीन दिनभित्र अनुमति पत्रसहित गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जमा उपस्थित हुन निर्देशन दिइएको यादवले बताए ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख जयकुमार राउत, गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका सहायक निरीक्षक श्रीकान्त चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका श्रवणकुमार साह र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक राजेश सहनीलगायत सहभागी थिए ।

महावाणी
लोड हुँदैछ... |

भर्खरै ⋙