पर्सा। शिक्षाको पहुँचबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ ह्युमन लव च्यारिटी फण्डले धोबिनीमा सञ्चालन गर्दै आएको निःशुल्क शैक्षिक अभियानलाई निरन्तरता दिएको छ।
संस्थाले विगत एक महिनादेखि धोबिनीमा प्राथमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएको छ। सोही ट्युसन सेन्टरमा अध्ययनरत १०० जना विद्यार्थीलाई आज कापी तथा प्राथमिक तहका आवश्यक पुस्तकहरू वितरण गरिएको हो।
आर्थिक तथा शैक्षिक अवसरको अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नदिन संस्थाले निःशुल्क पठनपाठनसँगै शैक्षिक सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
सामग्री वितरण कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मुकेश पटेल, उपाध्यक्ष दिपेन्द्र चौधरी सहनी, सदस्यहरू रामबाबु पटेल, अजय पटेल, रुपेश सहनी, नौसाद अन्सारी,उमेश कुमार तथा ट्युसन शिक्षिकाहरू अस्मिता कुमारी साह र अमरिता कुमारी साहको उपस्थिति रहेको थियो।
ग्रामीण क्षेत्रमा सामुदायिक तथा संस्थागत पहलबाट शैक्षिक पहुँच विस्तार गर्न सकिने उदाहरणका रूपमा यस अभियानलाई हेरिएको छ। यस्ता कार्यक्रमले बालबालिकाको सिकाइ निरन्तरतामा सहयोग पुग्नुका साथै शिक्षाप्रति अभिभावक र समुदायको चासोसमेत बढाउन सक्छ।
ह्युमन लव च्यारिटी फण्ड, धोबिनी–५, पर्साले शिक्षा र सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।




























